काठमाडौं । सरकारले सवारी लाइसेन्सको ट्रायलमा न्यूनतम ७० अंक ल्याए पास हुने व्यवस्था ल्याएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायातमन्त्री तथा सचिवहरूको बैठकले निर्देशिका कार्यान्वयन ल्याउने निर्णय गरेको हो ।
उक्त निर्णयसँगै अब सबै प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वनमा आउनेछ ।
यसअघि प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्देशिका लागू भइसकेको छ । मधेस, बागमती र कर्णाली प्रदेशले भने यो व्यवस्था कार्यान्वनमा ल्याउन सकेका थिएनन् ।
संसोधनसहित ल्याइएको यो निर्देशिका अनुसार प्रयोगात्मक परीक्षा (ट्रायल) मा कुल १०० अंकभारमध्ये न्यूनतम ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था छ ।