कृषि औजार कारखानाको अध्ययन गर्न महाबीर पुनलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, ३० साउन । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय आविस्कार केन्दका अध्यक्ष महावीर पुनलाई कृषि औजार कारखाना सञ्चालनको संभाव्यता अध्ययनका लागि आग्रह गरेका छन् ।

सोमबार अर्थ मन्त्रालय, सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई संचालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई संचालन गर्न आवश्यक रहेको बताएका थिए ।

कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै संचालनमा ल्याउने र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविस्कार केन्द्रको रुपमा पनि विकास गर्ने सरकारको लक्ष्य रहेको शर्माको भनाइ थियो ।

पुनले कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार तथा उपकरणहरुको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरुको आविष्कार गर्ने पनि बताए ।

कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविष्कार केन्द्र समेत बनाउने अर्थमन्त्रीको योजनाप्रति आफ्नो समर्थन रहेको बताउँदै पुनले सो कारखानाले नेपालका ग्रामीण क्षेत्रका किसानलाइ आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाइ आवश्यक पर्ने औजारहरु समेत निर्माण गर्न सकिने बताए ।

कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत संचालन हुने गरी आधुनिकीकरण गर्न सकिने पुनले बताए ।

कृषि कार्यमा प्रयोग हुने मानव, पशु र यान्त्रीक शक्तिबाट संचालन हुने सस्तो, सरल, तथा सुलभ तरिकाबाट भूगोल सुहाउँदो कृषि यन्त्र र उपकरण उत्पादन गरी आयात प्रतिस्थापन गर्ने तथा कृषि क्षेत्रमा रोजगारी सृजना गरेर आय आर्जन क्षमता बढाउने उद्देश्यले कृषि औजार कारखाना स्थापना गरिएको थियो ।

नेपाल सरकार र तत्कालिन सोभियत संघको संयुक्त लगानीमा वि.स. २०२१ सालमा वीरगञ्जमा स्थापित यो कारखाना कम्पनीमा परिणत भएसँगै व्यवस्थापन विग्रँदै गएको थियो ।

अहिले सरकारले स्वदेशमा आवश्यक कृषि औजार तथा उपकरणहरुको उत्पादनका लागि सो कारखानालाई पुनर्जिवन दिने पहल थालेको छ ।

यस कारखानाको आफ्नै स्वामित्वमा वीरगन्ज उपमहानगरपालिका मजडिहा पिपरा वडा नं ८ र ९ मा नौ विगाहा जग्गामा कार्यालय भवन, कारखाना, आवास तथा अन्य भवन र मेशिनरीहरु छन् ।

२०४८ सालमा नीजिकरण भएको कृषि औजार कारखानालाई २०५१ फाल्गुणमा नीजिकरण फुकुवा गरी संचालनमा ल्याइएको थियो । २०५३ असारसम्म उद्योग न्यून क्षमतामा संचालनमा रहेको थियो । २०५९ सालदेखि भने यो पूर्णरुपमा बन्द छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here