झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १ भदौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ ।

साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से ०.३६ अंकले घटेर २०४०.६ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२० कम्पनीको १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ वटाको परिसूचक हरियाली भएको छ भने ६ समूहको राताम्मे भएको छ ।

हाइड्रोपावर समूह सबैभन्दा धेरै ०.६८ प्रतिशतले बढेको छ भने जीवन बीमा ०.४८ प्रतिशतले घटेको छ ।

आज स्वयतगंगा हाइड्रोपावर कम्पनी, मन्दाकीनी हाइड्रोपावर कम्पनी, अप्पर हेवाखोला, सपोर्ट लघुवित्त वित्तीय संस्था र दोर्दीखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

नेप्सेका अनुसार आज सामलिङ पावर कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट झन्डै ७ करोड र नबिल बैंक ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here