नेपाल म्यानमार चेम्बरको नयाँ कार्यसमितिः अध्यक्षमा शिवकुमार अग्रवाल

काठमाडौं । नेपाल म्यानमार उद्योग वाणिज्य संघले व्यवसायी शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

बुधबार राजधानीमा सम्पन्न संघको १२ औं साधारणसभाले अग्रवाललाई अध्यक्षमा पुनः निर्वाचित गरेको छ भने संघको वरिष्ठ उपाध्यक्षमा रतनलाल केडिया र उपाध्यक्षमा मोहनवीर थापा निर्वाचित भए ।

यस्तै, महासचिवमा सुभाषकाजी श्रेष्ठ, सचिवमा अमृत खड्का तथा कोषाध्यक्षमा लक्ष्मीप्रसाद सुवेदी निर्वाचित भए ।

संघको सदस्यहरुमा पवनकुमार अग्रवाल, मोहनलाल दारुका, रामचन्द्र खेतान, राज लामा, प्रदीपकुमार रुंगटा, सृजना सुवेदी र मुकुन्दप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् ।

संघका पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

कार्यक्रममा नेपालका लागि म्यानमारका राजदूत यु सेन ओले म्यानमारको यांगुनबाट नेपाल उडान गर्ने तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए ।

साधारणसभालाई सम्बोधन गर्दै उनले याङ्गुनदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म उडान सञ्चालनका लागि म्यानमार सरकारलाई प्रस्ताव पठाइएको बताए ।

म्यानमारका लागि प्रस्तावित नेपाली राजदूत हरिशचन्द्र घिमिरेले दुई देशबीच सांस्कृतिक, व्यापारिक र भाषिक सम्बन्ध विकास गर्ने प्रचुर सम्भावना रहेको बताए । उनले म्यानमारमा रहेका नेपाली दोस्रो ठूलो डायस्पोरा भएको र नेपालको सन्दर्भमा सफ्ट पावरको रुपमा काम गर्न सक्ने बताए ।

निर्यातका लागि जडिबुटी र आयुर्वेदिक औषधि प्रमुख उत्पादन हुन सक्ने उनको भनाइ छ ।

संघले व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न दुवै देशका सरकारलाई सीधा हवाई सम्पर्क स्थापना गर्न आग्रह गरेको छ । “हामी नेपाल र म्यानमारको व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ,” संघका अध्यक्ष शिवकुमार अग्रवालले भने, “दुई देशबीच सिधा हवाई सम्पर्क हुनुपर्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here