नेपालमा पहिलो पटक आमाको दूध राख्न मिल्ने ‘मिल्क बैंक’ सञ्चालन हुँदै, शुक्रवार उद्घाटन

संकेतिक तस्विर

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा वृहत्त स्तनपान व्यवस्थापन केन्द्र (ह्युमन मिल्क बैंक) सञ्चालनमा आउने भएको छ ।

अस्पतालको ६३ औं वार्षिकोत्वसको अवसरमा शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले वृहत्त स्तनपान व्यवस्थापन केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यो नै नेपालको पहिलो (ह्युमन मिल्क बैंक) हो ।

आमाहरूले दान गर्ने दूध सुरक्षितरूपमा राखेर शिशुलाई खुवाउन मिल्ने गरी खोलिएको स्तनपान व्यवस्थापन केन्द्र सरकारले अघिल्लो वर्ष अवधारणा ल्याएको थियो ।

वृहत्त स्तनपान व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि आमाको दूध खान नसक्ने, दूध नै नआउने आमा, आमाले खुवाउन नसक्ने समस्यालाई समाधान गर्न सहयोग गर्नेछ ।

नेपालको एकमात्र ठूलो रिफरल स्त्रीरोग अस्पताल हो परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल । जहाँ वार्षिक २२ देखि २४ हजार डेलिभरी हुन्छ । अस्पतालमा मासिक २ हजार डेलिभरी हुने गरेका छन् जसमा ३५ प्रतिशत शल्यक्रियाबाट बच्चा जन्मिने गरेका छन् ।

दूध दान गर्ने आमाहरूले ६ महिनाभित्र प्रमुख तीन परीक्षण एचआईभी, भेनेरल डिजिज रिसर्च ल्याबोलरेटरी टेस्ट(भिडिआरएल) र हेपटाइटिस बी सर्फेस एन्टिजेन टेस्ट (एचबीएसजी) परीक्षण गरेको हुनुपर्छ ।

त्यसपछि स्वस्थ्य आमाबाट ब्रेस्ट मिल्क पम्पको माध्यमले आमाको दूध संकलन गरिन्छ । बैंकमा इलेक्ट्रिक र म्यानुअल पम्प उपलब्ध हुनेछ ।

संकलन गरिएको दूधमा कुनै रोगव्याधि नरहेको परीक्षणबाट सुनिश्चिततापछि पास्चराइजेसन गरेर एक सय मिलिलिटरको बोतलमा राखिन्छ ।

त्यसपछि माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिजरमा राखिने उक्त बोतल आमाको दूध नपाएका शिशुलाई उपलब्ध गराइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here