सरकारलाई ऋणै-ऋणको भार, एक वर्षमा थपियो २ खर्ब ३१ अर्ब

काठमाडौं, ३ भदौं । नेपालको सार्वजनिक ऋण २० खर्ब रुपैयाँ नाघेको छ । गत आव(एक वर्षमा) मा २ खर्ब ३१ अर्ब रुपैयाँभन्दा बढीले सार्वजनिक ऋण बढ्दा कुल ऋण २० खर्ब ११ अर्ब ५८ करोड पुगेको हो ।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा सरकारको कुल तिर्न बाँकी वाह्य ऋण १० खर्ब २७ अर्ब ३० करोड र आन्तरिक ऋण नौ खर्ब ८४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा सरकारले एक खर्ब २२ अर्ब दुई करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ । एक आर्थिक वर्ष अर्थात् ०७८/७९ मा मात्र सरकारको थाप्लोमा दुई खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ ऋण थपिएको छ ।

यस अवधिमा सरकारले एक खर्ब ८३ अर्ब ९७ करोड खुद आन्तरिक ऋण परिचालन गरेको छ । यसरी थपिँदा उक्त आवमा सरकारले ऋणको सावाँँबापत मात्र ४७ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

आर्थिक वर्ष ०७८/७९ मा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१ दशमलव पाँच प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो अनुपात ४० दशमलव ६ प्रतिशत रहेको थियो ।

गत वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब ६४ करोड बराबर थियो। सरकारको सार्वजनिक ऋणको मात्रामा क्रमशः वृद्धि हुँदै गएपछि बजेटमा नै वित्तीय व्यवस्थाअन्तर्गतको शीर्षकमा समेत क्रमशः बजेट वृद्धि हुँदै गरेको विवरणबाट देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here