डलर र युरोको भाउ बराबर, रेमिट्यान्सले धानेको नेपाली अर्थतन्त्रमा सोझो प्रभाव

काठमाडौं, ७ भदौं । यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ उस्तै भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट केहीमात्र टाढा रहेको छ ।

अमेरिकी डलरको तुलनामा यूरो २० वर्षयताकै कमजोर भएपछि नेपाली बजारमा डलर र युरोको भाउ बराबर हुन आइपुगेको छ ।

राष्ट्र बैंकले मंगलबार डलरको लागि बिक्रिदर १२८ रुपैयाँ १० पैसा पुगेको छ । साथै, खरिददर १२७ रुपैयाँ ५० पैसामा कायम भएको छ ।

त्यस्तै, आज युरोको बिक्रीदर १२८ रुपैयाँ १९ पैसा छ भने खरिददर १२७ रुपैयाँ ५९ पैसा रहेको छ ।

१ साउन २०६५ मा डलरको अनुपातको यूरो सबैभन्दा महँगो भएको थियो । त्यसबेला डलरको भाउ ६९ रुपैयाँ थियो भने युरोको विनिमयदर १११ रुपैयाँ पुगेको थियो । २०५६ पुसदेखि २०५९ मंसिरसम्ममात्रै यूरोको भाउ डलरभन्दा सस्तो भएको थियो ।

रुस(युक्रेन युद्ध र कोभिड पछाडिको आर्थिक मन्दीका कारण डलरको भाउ बढ्ने र यूरो घट्ने भइरहेको छ।

महाद्धीपमा मन्दीको प्रचुर मात्रामा डर र उच्च मुद्रास्फीति तथा युक्रेनमा रूसको आक्रमणको कारण ऊर्जा आपूर्ति अनिश्चितताको कारण युरोको भाउ घटेको हो ।

१७ पुस २०५५ मा यूरोपेली संघका ११ सदस्य मुलुकले एकल मुद्रा प्रणाली सञ्चालन गर्ने भनेर युरो प्रचलनमा ल्याएका थिए ।

अहिले युरोपका १९ मुलुकले यो मुद्रालाई बैधानिक भुक्तानीको माध्यमक अर्थात् राष्ट्रिय मुद्रा मानेका छन् । जर्मनी, फ्रान्स, इटली, स्पेन, नेदरल्याण्ड्स, पोर्चुगल, ग्रीस, बेल्जियम, अस्ट्रिया, स्लोभाकिया, फिनल्याण्ड, आयरल्याण्ड, लात्भिया, स्लोभेनिया, इस्टोनिया, साइप्रस, लक्जम्बर्ग र माल्टा यूरोजोनका सदस्य छन् ।

यी देशमा कति नेपाली छन् भन्ने स्पष्ट आँकडा नभए पनि थुप्रै नेपाली बसिरहेका छन् । यूरो कमजोर हुँदा यी मुलुकमा रहेर काम गर्ने नेपालीले पठाउने रेमिटेन्समा असर पर्नेछ ।

त्यसको सोझो प्रभाव रेमिटेन्सले धानेको नेपाली अर्थतन्त्रमा पर्न जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here