काठमाडौं, १० भदौं । काठमाडौं महागरपालिकाको नगर प्रहरी टोलीले त्रिपुरेश्वरस्थित राहदानी विभागको ‘अन्डरग्राउण्ड’ पार्किङ खाली गराएको छ ।
शुक्रबार दिउँसो नगर बल प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित राहदानी विभागको ‘अन्डरग्राउण्ड’ खाली गराएको हो ।
विभागको पार्किङका लागि बनाइएको बेसमेन्टमा कार्यालय राखिएको पाइएको थियो । जसकारण सवारी पार्किङ अव्यवस्थित बनेको थियो ।
काठमाडौं महानगरले पार्किङ क्षेत्र खाली गराएपछि राहदानी विभागले पार्किङ क्षेत्र खुला गरिएको बताएको छ।
शुक्रबार दिँउँसो काठमाडौं महानगरले कार्यालय निरीक्षण गरी पार्किङ क्षेत्रमा कुर्सी राखेर स्थान ओगटिएको भेटाएपछि खाली गराएको थियो। विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै आइतबारदेखि लागू हुने गरी सेवाग्राहीको सुविधाका लागि पार्किङ क्षेत्र खुला गरिएको जानकारी गराएको हो।
‘काठमाडौं महानगरपालिकाले विभागको बेसमेन्ट खाली गराएकोले भदौ १२ आइतवारका दिनदेखि उक्त बेसमेन्ट सेवाग्राहीका लागि पार्किङस्थलका रूपमा प्रयोग हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पार्किङ सुविधाको प्रयोग गरी राहदानी विभाग बाहिरको सडकमा अनावश्यक भिडभाड नगर्न समेत सेवाग्राहीमा विभागले आग्रह गरेको छ।
























