साना उद्योगीका उत्पादनको मार्केटिङमा सघाउने नवनियुक्त राजदूतहरुको वाचा

क्लाउडपत्रिका
काठमाडौं, २९ माघ । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नवनियुक्त राजदूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई अन्तराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उनीहरुले बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघको सचिवालयमा आयोजना गरेको स्वागत तथा भेटघाटमा उनीहरुले आफूहरुले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरुको बजारीकरणमा सघाउने बताएका हुन् ।
नेपालको प्रतिनिधित्व गर्दै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, थाइल्याण्डका लागि नेपाली राजदूत गणेश प्रसाद ढकाल, यु. एन. जेनेभाका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई, फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारी, कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी, क्यानडाका लागि लागि नेपाली राजदूत भृगु ढुंगानाले समृद्घ नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा साना उद्योगहरुको योगदानलाई बिर्सन नहुने बताए ।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले आयात प्रतिस्थापन र निर्यात तथा उत्पादनमूलक उद्यम व्यवसायको प्रवर्द्धन गर्नु मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरुको विकास र प्रवर्द्धन गर्न आवश्यक भएकोमा जोड दिए । यस्ता उत्पादनहरुको निर्यात प्रवर्द्धनका लागि राजदूतहरुले आ–आफ्नो कार्यक्षेत्रमा आर्थिक कुटनीति अघि बढाउने उनको अपेक्षा छ ।

कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदानमध्ये ९० प्रतिशत हिस्सा साना उद्योगहरुको रहेको जानकारी दिंदै कूल औद्योगिक रोजगारीको ७५ प्रतिशत रोजगारी र कूल औद्योगिक निर्यातको ८० प्रतिशत निर्यात यसै क्षेत्रबाट भएको सिंहको भनाइ छ ।

घरेलु तथा साना उद्योग विभागको आर्थिक वर्ष २०७३/७४ को तथ्याङ्कअनुसार मुलुकभर कुल ३ लाख ८६ हजार ५ सय १२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् जसमध्ये २ लाख ६४ हजार भन्दा बढी सञ्चालमा रहेका छन् । ती उद्योगहरुमा प्रस्तावित लगानी रु. ३ खर्ब ५३ अर्ब १२ करोड छ ।
राजदूताबास तथा अन्य नेपाली नियोगहरुमा लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको प्रदर्शनीको व्यवस्था गर्नमा व्यवसायीहरुले जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here