काठमाडौं । प्रभु क्यापिटल लिमिटेडसहित ६ वटा मर्चेन्ट बैङ्करले नेपाल धितोपत्र बोर्ड (सेबन)बाट कोष व्यवस्थापनमा काम गर्न अनुमति पत्र पाएका छन् ।
सेवनले विशिष्टीकृत लगानी कोषअन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न ६ ओटा मर्चेन्ट बैङ्करलाई अनुमति दर्ता प्रमाण पत्र दिएको हो ।
पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न भदौ १९ गते आईतबार सेवनमा एक कार्यक्रमको आयोजना गरी अनुमती पत्र हस्तान्तरण गरिएको हो ।
एसआईएफको कोष प्रबन्धकको लागि पाएको स्वीकृतिसँगै प्रभु क्यापिटललाई नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरु प्रदान गर्ने बाटो खुलेको छ ।
नवीनतम् ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज भण्ड जस्ता उपकरणमार्फत् लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने क्यापिटलले जनाएको छ ।
यस्तो कोषमा बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता तथा नेपाली तथा गैरआवासीय नेपाली लगायतले लगानी गर्न सक्नेछन् ।
जसबाट स्वदेशी श्रोत परिचालन भर्ई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पूँजी बजार विस्तार गर्न सहयोग पुग्नेछ भने राष्ट्रको समग्र व्यापार क्षेत्रको लागि यो लाभदायक हुनेछ ।
अनुमति दर्ता प्रमाण पत्र प्राप्त गर्नेमा प्रभु क्यापिटल सहित एनआईबिएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल ईन्भेष्टमेण्ट क्यापिटल, एनआईसी एसिया क्यापिटल रहेका छन् ।
सेवनले यसअघि ग्लोबल ईक्विटी फण्ड र अवसर ईक्विटी फण्डलाई यस्तो अनुमति पत्र प्रदान गरिसकेको छ । बोर्डले हालसम्म ८ ओटा संस्थाहरूलाई विशिष्टीकृत लगानी कोषअन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र प्रदान गरिसकेको छ ।