कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून, नेपाली उपभोक्ताले पाउँछन् लाभ ?

gettyimages

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) प्रति ब्यारेल ८५ डलरभन्दा तल झरेको छ भने ग्लोबल ब्रेन्ट बेन्चमार्क ९० डलरभन्दा तल कारोबार भइरहेको छ ।

रुसले तेलको आपूर्ति रोक्ने धम्की दिइरहेको अवस्थामा तेलको भाउ घटेको हो । अन्तरराष्टिय बजारमा डलरको भाउ बढ्दा माग घट्ने डरले तेलको भाउमा गिरावट आएको बिशेषज्ञहरु बताउँछन् ।

विश्लेषकहरूले बुधवारको घाटाको पछाडि धेरै कारकहरू उद्धृत गरे, जसमा विश्व अर्थतन्त्रको स्वास्थ्यको चिन्ता र अमेरिकी डलरको आकाशिएको भाउ छ ।

बलियो अमेरिकी डलरले विदेशमा तेलको मागलाई कमजोर बनाउँछ। बुधबार डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । त्यसो त विश्वभरका केन्द्रीय बैंकहरूले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाइरहेका छन् ।

चीनमा महामारी फैलिन नदिन कडा लकडाउन गरिएको छ र यसले मागलाई असर गरेको छ । ओपेक राष्ट्रहरूले उत्पादन कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको मूल्य केही बढेको थियो ।

तर, उनीहरुले आफ्नो निर्णयको आधार गुमाएका छन् । साउदी अरेबियाले एशिया र युरोपमा आफ्ना ग्राहकका लागि अर्को महिनाको कन्साइनमेन्टको मूल्य घटाएको छ ।

युक्रेनमा रुसको आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १३९ डलर पुगेको थियो । जुन २००८ यताकै उच्च रहेको थियो ।

जसका कारण नेपालमा पनि इन्धनको मूल्य उच्च रुपमा वृद्धि भएको थियो । तर पछिल्लो समय अन्तराष्ट्रिय बजारमा मूल्य निकै तल आइपुगेपनि नेपालमा भने इन्धनको मूल्य घटेको छैन् ।

केही समयदेखि नेपाली बजारमा पेट्रोलको मूल्य स्थिर रहेको छ भने डिजेल र मट्टीतेलको मूल्य भने थप महँगो भएको छ ।

तर, कच्चा तेलको मूल्य जनवरी यताकै न्यून स्तरमा आएको वर्तमान अवस्थामा आगामी दिनमा देशमा पेट्रोल र डिजेलको मूल्य घट्न सक्ने आँकलन गर्न सकिन्छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट मूल्य घटेर आएपनि समग्रमा घाटा कायमै रहेको जनाउँदै तत्काल मूल्य नघटाउने बताउँदै आएको छ ।

निगमले गत बिहीबार मात्रै डिजेल र मट्टीतेलको मूल्य ६–६ रुपैयाँ बढाएको थियो । अहिले नेपाली बजारमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ  भने पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here