भारतले लगायो धान र चामल निर्यातमा २० प्रतिशत कर, महंगी झन् बढ्ने

फाइल तस्बिर/रासस

काठमाडौं, २४ भदौं । भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ । भारतीय खाद्य मन्त्रालयको सिफारिसपछि वित्तीय मन्त्रालयअन्तर्गत राजश्व विभागले धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको हो ।

बासमती र उसिना बाहेक निर्यात हुने अन्य चामलमा भारतले २० प्रतिशत कर लगाएको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ । चीनले वस्तु भाउको आहराको रूपमा र अफ्रिका जस्ता मुलुकले खानाको रूपमा कनिका प्रयोग गर्दै आइरहेको छ।

आफ्नो उत्पादन घटेको र विश्वभर खाद्य संकटको अवस्था देखिएकाले आफ्नो बजार मूल्य नियन्त्रण गर्न पनि भारतले धान चामल निर्यातमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पश्चिम बंगाल, उत्तर प्रदेशसहित केही राज्यमा वर्षाको कमीका कारण धानको उत्पादनमा समेत कमी आएको जनाएको छ । कनिका निर्यात प्रतिवन्ध गर्न भारत सरकारको निर्णयले नेपालका वियर उद्योग प्रभावित हुने भएका छन् ।

वियर उद्योगको कच्चा पदार्थको रुपमा प्रयोग हुने कनिका निर्यातमा भारतले प्रतिवन्ध लगाउने भएपछि त्यसको असर नेपाली वियर उद्योगमा पर्ने भएको छ।

आर्थिक वर्षमा नेपालमा ५ लाख ४६ हजार मेट्रिक टन धान, ५ लाख २० हजार मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन कनिका आयात भएको थियो । यस्तो आयातमध्ये अधिकांश चामल, धान र कनिका भारतबाट नै आयात भएको हो ।

विश्वमा धान उत्पादनमा भारत चीनपछिको दोस्रो ठूलो मुलुक हो । भारतले विश्वका एक सय ५० भन्दा बढी देशमा चामल निर्यात गर्छ। मौसम प्रतिकुलका कारण भारतभर यो वर्ष चामल उत्पादन करिब ७० लाख टन घट्ने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here