टेकुमा थुपारिएको फोहर हट्यो, अब फोहोरको कारण काठमाडौं अस्तव्यस्त नहुने

फाइलफोटो

काठमाडौं । चार महिनापछि टेकुस्थित ट्रान्फर स्टेशनको फोहोर व्यवस्थापनको काम सकिएसँगै अब हरेक दिन नागरिकको घरबाट उठाइएको फोहोर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पर्याइने भएको छ । विगत चार महिनादेखि अल्पकालिन व्यवस्थापनको लागि टेकुमा थुपारिएको फोहर बिहीबारबाट सकिएको छ ।

यस अघि थुपारिएको फोहर सकिएकाले आगामी दिनमा नागरिककको घरबाट निस्किएको सबै फोहर सोही दिन बञ्चरेडाँडामा लगिने छ । अब यस अघिझै टेकुमा फोहोर थुपारेर नराखिने बताईएको छ ।

लामो समयदेखिको फोहोर व्यवस्थापनको काम सकिएकाले यस अघिझै फोहोरको कारण काठमाडौँ उपत्यका अस्तव्यस्त नहुने कामनपाको वातावरण विभाग प्रमुख सरिता राईले बताइन् ।

सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग भएको सहमति कार्यान्वयनको चरणमा रहेको र कुहिने फोहोर व्यवस्थापनको सवालमा कामपाले उपत्यकामा नै व्यवस्थापन गर्ने गरी वैकल्पिक स्थान पहिचान गर्न सक्रिय रहेको पनि प्रमुख राईले जानकारी दिइन् ।

सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडौँ उपत्यकाको फोहर टेकुमा अल्पकालीन व्यवस्थापन गरिँदै आएको थियो ।

उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहर व्यवस्थापन कार्य सुरु भएको थियो ।

गत फागुनदेखि कहिले सडकको कारण त कहीले स्थानीयको अवरोधका कारण नियमितरुपमा उपत्यकाको फोहर व्यवस्थापनको काम हुन सकेको थिएन ।

लामो सयम नियमित फोहोर व्यवस्थापनको काम हुन नसक्दा ट्रान्फर स्टेशनमा फोहोरको डङ्गुर थुप्रिएको थियो । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here