सामाजिक सञ्जाल तथा अनलाइन मार्फत हुने विज्ञापनमा राष्ट्र बैंककाे आँखा

काठमाडौं, ८ साउन । सरकारले सामाजिक सञ्जाल तथा अनलाइन मार्फत हुने विज्ञापन बापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिको व्यवस्थापन गर्ने नीति बनाउने भएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था मिलाउने बताएको हो ।

नीतिमा भनिएको छ, ‘सामाजिक सञ्जाल तथा अनलाइनमार्फत हुने विज्ञापनवापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिको व्यवस्थापन गर्न आवश्यक नीति तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।’

त्यस्तै, हेजिङ्ग सम्बन्धी नियमावली, २०७५ को प्रभावकारी कार्यान्वयनको लागि हेजिङ्ग सम्बन्धी कार्यविधि तर्जुमा गरिने, सफ्टवेयर खरीद वा मर्मत गरी भुक्तानी पठाउने रकमको सटही अनुमति प्रदान गर्दा सम्बन्धित नियामक निकायको सिफारिश आवश्यक हुने व्यवस्था गरिने पनि नीतिमा भनिएको छ ।

अध्ययन, सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनिमय खर्चलाई नियमन गर्न आवश्यक नीतिगत व्यवस्था गरिने पनि नीतिमा उल्लेख छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै प्रमुख पर्यटकीय स्थलहरुमा बैंक तथा वित्तीय संस्थाहरुले छुट्टै काउण्टर खोली विदेशी मुद्रा सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था मिलाउने पनि राष्ट्र बैंकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here