भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ला ?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आइओसीले निगमलाई भदौ ३१ गते (सेप्टेम्बर १६ तारिख) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।

आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको भाउ घटेर आएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ६.५५ रुपैयाँ, डिजेल ४४ पैसा र हवाई इन्धन प्रतिलिटर १.५० रुपैयाँ घटेर आएको छ ।

नयाँ मूल्य अनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा हुने भएको छ भने डिजेलमा ५ रुपैयाँभन्दा बढी घाटा हुने निगमले जनाएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ र डिजेलको १७८ रुपैयाँ रहेको छ । मूल्य घटेर आउदाँ पनि निगम अहिले मासिक १७ करोड घाटामा रहेको निगमले जनाएको छ ।

यसअघि लगातार ३ पटकसम्म मूल्य घटेर आउँदा पनि निगमले मूल्य समायोजन गरेको थिएन । भारतबाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई भने तत्काल सोअनुरुप लाभ नमिल्ने देखिन्छ । हाल निगमले घाटामा इन्धन बेचिरहेकाले भाउ घटेर आए पनि नघट्ने देखिन्छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here