टुकुचा खोला खोज्ने अभियान जारी, महानगर भन्छ-‘संरचना नभत्काउन लिखित आदेश आएको छैन’

काठमाडौं, ३ असोज । काठमाडौं महानगरपालिकाले टुकुचा उत्खननको काम जारी राखेको छ ।

आइतबार उच्च अदालत पाटनले टकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरे पनि काठमाडौं महानगरपालिकाले टुकुचा उत्खननको कामलाई निरन्तरता दिएको हो ।

प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीन जनाले दिएको रिटको सुनुवाइ गर्दै आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले उक्त आदेश दिएको थियो ।

अदालतको आदेशको महानगरले सम्मान गर्ने तर अहिलेसम्म कुनै लिखित आदेश नआएको महानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ । उसले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो ।

नारायणहिटी दरबार संग्रहालयबाट बाहिर निस्केपछि टुकुचा खोला भूमिगत गरिएको छ । त्यसपछि पुतलीसडकको काठमाडौं प्लाजा छेउमा मात्र टुकुचा देखिन्छ ।

महानगरले यसअघि नै टुकुचा भूमिगत भएको सुरुवाती बिन्दु र अन्तिम बिन्दु उत्खनन गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here