कपन आगलागी: मृतकको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११, लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौँको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् ।

कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेन्चरमा पोर्टेबल अक्सिजन सिलिन्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको थियो ।

उक्त घटनामा काठमाडौंको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । दायाँ हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेका उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रहरी प्रभाग कपन, जिल्ला प्रहरी परिसर काठमाडौं, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाएको जानकारी दिए । आगो निभाउन २०० प्रहरी, ७० नेपाली सेना र ३० सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

आगो निभाउन बौद्ध, रामहिटी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र त्रिभुवन विमानस्थलका गरी नौवटा दमकल तथा १० पानी ट्यांकरको प्रयोग गरिएको थियो । आगलागीबारे आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here