‘ब्याजको लोभमा बैंकमा पैसा राखेर देशको विकास हुँदैन’

काठमाडौं, ६ असोज । अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा थुपारेर देशको विकास नहुने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नाडा इभी अटो शोमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

बैंकले ब्याजदर बढाएको सन्दर्भमा बोल्दै बैंकमा पैसा राखेर १३/१४ प्रतिशत ब्याज लिने भएपछि त्यस देशमा उत्पादन नबढ्ने बताएका हुन् ।

स्तै, उनले अहिले विद्युतीय गाडीमा के कस्ता छुट दिने भनेर छलफल भैरहेको उनले बताए । उनले विद्युतीय गाडी नेपालमा नै बनाउनु पर्ने र त्यसका लागि चार्जिङ स्टेशन पनि निर्माण गर्नु पर्ने धारणा राखे ।

‘अहिले बिश्वमा अर्थतन्त्र कसरी निर्माण गर्ने भन्ने बारेमा बहस भइरहेको छ, सबै देशहरूले त्यो दिशातर्फ जानको लागि योजना बनाइरहेका छन्, ग्रिन हाइड्रोजन र ग्रिन एमोनिया उत्पादन गर्ने बहस हामीले गर्दैछौं, नेपालमा कहिलेसम्म पेट्रोलियम गाडी चल्न पाउने बारेमा हामीले अध्ययन गर्दैछौं, त्यसको लागि मन्त्रालयमा कमिटी बनेको छ, हामिले समयमै जानकारी दिनेछौं,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरूले धम्कीको शैलीमा ब्याजदर बढाएको भन्दै त्यसको समाधानका लागि पहल गर्न अर्थमन्त्री शर्मालाई आग्रह गरेका थिए ।

अध्यक्ष गोल्छाको सो आग्रहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बैंकले ब्याजदर बढाएको बारे छलफल गरी आवश्यक कार्य गरिने बताए ।

उनले आफू यसबारेमा जानकार रहेको भन्दै भने, ‘मसँग छलफल भइरहेको छ, राष्ट्र बैंकले पनि यसबारे केही कदम चाल्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here