ब्याजदरमा अर्थमन्त्रीको चासो कति जायज ?

काठमाडौं, ९ असोज । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायिक क्षेत्रबाट देखाइएको चासोबारे विश्लेषण गरी सुझाव दिन समिति गठन गरेका छन् । कतिपयले अर्थमन्त्रीको यो सक्रियतालाई भने अस्वभाविक मानेका छन् ।

समितिले एक हप्ता भित्र सुझाव दिने समय पाएको छ । आइतबार मन्त्रालयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष , नेपाल रास्ट्र बैंकका डेपुटी गभर्नर , नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ , घरेलु तथा साना उद्योग महासंघ , नेपाल बैंकर्स संघलगायत सरोकारवाला निकायका प्रतिनिधिहरु सम्मिलित बैठकमा नेपालको आर्थिक अवस्थाको बारेमा छलफल भएको थियो।

बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले मुलुकको अर्थतन्त्रमा देखिएको चापलाई सबै मिलेर समाधान गर्नुपर्ने धारणा राखेका थिए ।

अर्थतन्त्रमा देखिएको असहजता कुनै एक निकायको मात्र समस्या नभएर समग्र मुलुकको समस्या भन्नुहुँदै यसमा कसैलाई दोष लगाएर पन्छिन नहुने उनको भनाई छ ।

‘यो समस्याको समाधान सबै पक्ष बसेर छलफल गरी समाधानको उपाय निकाल्नुपर्छ’, उनले भने, ‘कुनै एकलाई दोष लगाएर होइन, मिलेर जानुपर्छ ।’ मन्त्री शर्माले चालु आर्थिक वर्षको बजेटमा किसान तथा साना उद्योगलाई प्रोत्साहन हुने गरी व्यवस्था गरिएको दोहो¥याउनु हुँदै कार्यान्वयनमा तदारुकता दिन सम्बन्धित निकायलाई आग्रह गरे ।

पछिल्लो समय बैंकहरूले ब्याज वृद्धि गरेको गुनासो आफ्नो जिल्ला भ्रमणका क्रममा व्यवसायीहरूले गरेकोबारे ध्यानाकर्षण भएको बताउँदै उनले साना उद्यमीहरूलाई सहुलियतमा ऋण उपलब्ध गराउन पनि आग्रह गरे ।

‘किसान तथा साना उद्यमीहरूलाई प्रोत्साहन नगरीकन अर्थतन्त्र सुधार हुँदैन’, उनले भने, ‘यसबारे बजेटले पनि स्पष्ट बोलेको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय बैंकहरूले गरेको निर्णयले उद्योगी व्यवसायी मर्कामा परेको गुनासो गरे । उनले सबै निकायसँग सहकार्य गरेर हाल देखिएको असहज परिस्थितिको सामना गर्न निजी क्षेत्र कटिबद्ध रहेको पनि जनाए ।

अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको समितिले हाल मुलुकमा देखिएको तरलता अभावलगायतका विषयमा छलफल, परामर्श तथा विश्लेषण गरी नीतिगत सुझावसहित ७ दिनभित्र प्रतिवेदन बुझाउने छ । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतितिधि, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका प्रतिनिधि, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, नेपाल बैंकर्स संघका दुई जना प्रतिनिधि, निजी क्षेत्र (उद्योग वाणिज्य महासंघका तीन जना प्रतिनिधि सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here