काठमाडौं, २८ असोज । शुक्रबार काठमाडौं उपत्यकामा गरिएको विशेष चेकिङको क्रममा नम्बर प्लेट स्पष्ट नभएका ६ सय १० ओटा र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ ओटा दुईपाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
उपत्यकाका बिभिन्न स्थानमा गरिएको चेकिङको क्रममा नम्बर प्लेटमा स्पष्ट रुपमा नम्बरहरु नदेखिने, मापदण्ड अनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाश तर्फ फर्काएर राख्ने दुईपाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । त्यस्तै ठुलो आवाज निकाल्ने ७ ओटा मोटरसाइकलका चालक पनि कारबाहीमा परेका छन् ।
स्पष्ट रुपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडी र पछाडी राख्नुहुन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह(प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले अनुरोध गरेका छन् ।
तोकिए बमोजिमको नम्बर प्लेट दुरुस्त नभएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही हुनेछ ।