आकासियो डलरको भाउ, अर्थतन्त्रमा नकारात्मक असर

काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विहीवार १ डलरको बिक्रीदर १३३ रुपैयाँ १४ पैसा कायम भएको छ ।

यस्तै, खरिददर पनि १३२ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरो एकको खरिद दर १ सय २९ रुपैयाँ ६५ पैसा र बिक्री दर १ सय ३० रुपैयाँ २४ पैसा रहेको छ ।

अमेरिकी डलरको भाउ नयाँ बिन्दुमा पुग्दा त्यसबाट अर्थतन्त्रका समग्र क्षेत्रमा प्रभाव पर्न जान्छ । नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर राखेका कारण भारतीय मुद्रा कमजोर भएपछि स्वत: नेपाली रुपैयाँ कमजोर भएको हो ।

रूस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा अन्य मुद्राभन्दा डलर बलियो बन्दै गएको छ ।

यसले विकासशील राष्ट्र तथा नेपाल जस्ता आयातमुखी अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ । डलर मजबुत बन्दा निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

नेपाली रुपैयाँ कमजोर हुनुको नेपाली अर्थतन्त्रमा कुनै योगदान नभए पनि नेपाली रुपैयाँ अमेरिकी डलरसँग महँगो भएपछि नेपालले डलरमा खरिद गर्ने वस्तु तथा सेवाको भाउ पनि स्वत: बढ्छ, जसका कारण आयातीत वस्तु तथा सेवाको मूल्य बढ्दा आन्तरिक बजारमा पनि मूल्यवृद्धि हुन्छ ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो। पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

डलरको भाउ अझै माथि जाने संकेतहरु देखिएको छ। पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ ।

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको भाउ उतारचढाव हुँदा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here