शेयर बजारको ओरालो यात्रा रोकियो, अब एक साता कारोबार नहुने

काठमाडौं । शेयर बजारको ओरालो यात्रा रोकिएको छ । आइतवार शेयर बजार मापक सूचक (नेप्से) १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२१ कम्पनीको ५१ करोड ६८ लाख ३ हजार ४८३ रुपैयाँ बराबरको १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । विहीवार ५० करोड ७६ लाख ८९ हजार ५६० रुपैयाँ बराबरको कारोबार भएको थियो । दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १.२२ प्रतिशतले बढेको छ ।

सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५९.१० रुपैयाँ पुगेको छ । भने रु रु जलविद्युत्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड १’ को ७.८०, जनउत्थान लघुवित्त ४.१४, किसान लघुवित्त ४.०४, मिथिला लघुवित्त, सानिमा बैंक, अपर हेवाखोला र नेशनल हाइड्रोपावरको शेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज सिटिजन म्युचुलअल फण्ड २ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । यसको आज पाँच करोड १६ लाख भन्दा बढीको कारोबार भएको छ । नविल बैंकको ३ करोड ३८ लाख र नेपाल बैंकको ३ करोड २० लाखको कारोबार भएको छ ।

तिहारअघि शेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो ।

भोलि सोमबारदेखि तिहारको बिदा सुरु हुँदैछ। तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ।

अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here