इलोन मस्कले गरे ट्वीटरको निर्देशक बोर्ड बर्खास्त, अब सञ्चालक समितिमा एक्लै

काठमाडौं । ट्विटरको कमाण्ड सम्हालेपछि एलोन मस्कले ट्वीटरको निर्देशक बोर्डलाई बर्खास्त गरेका छन्। यससँगै उनले ट्वीटरलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएका छन्।

अब एलोन मस्क ट्वीटरका एक मात्र सञ्चालक बनेका छन् । डेली मेलको रिपोर्टका अनुसार हटाइएका निर्देशकहरूमा मार्था लेन फक्स, ओमिड कोर्डेस्तानी, डेभिड रोजेनब्लाट, प्याट्रिक पिचेट, इगोन फेई-फेई ली र मिमी अलेमेहेउ समावेश छन्।

इलोन मस्कले अक्टोबर २८ मा ट्विटरको नेतृत्व सम्हालेका थिए। मालिक बनेपछि मात्र उनले ट्विटरका सीईओ पराग अग्रवाल, सीएफओ नेड सेगल र कानूनी मामिला-नीति प्रमुख विजया गड्डेलाई कम्पनीबाट बर्खास्त गरेका थिए। त्यति मात्र होइन । मस्कले उनलाई कम्पनीको मुख्यालयबाट पनि निकाले ।

प्रभावशाली सामाजिक सञ्जाललाई मस्कले अधिग्रहण गरेपछि अभिव्यक्ति स्वतन्त्रता र कमजोर समूहहरूलाई अनलाइन हानिबाट जोगाउने बिचको सन्तुलनको बारेमा गहन बहस सुरु भएको छ।

स्व-घोषित ‘स्वतन्त्र-वाक् निरपेक्षतावादी’ मस्कले ट्वीटरको ‘मोडेरेसन पोलिसीहरु’को आलोचना गर्दै आएका थिए भने कम्पनीलाई वामपन्थी विचारहरूको पक्षपाती भएको आरोप लगाएका थिए।

मस्कले यसै वर्ष अप्रिल १३ मा ट्विटर किनेको घोषणा गरेका थिए । उनले प्रति शेयर ५४.२ डलरमा ४४ अर्ब डलरमा सोसल मिडिया प्लेटफर्म किन्न प्रस्ताव गरेका थिए । तर त्यसपछि स्प्याम र नक्कली खाताहरूको कारण, उनले त्यो सम्झौता होल्ड गरे।

जुलाई ८ मा, मस्कले सम्झौता तोड्ने निर्णय गरे। त्यसको विरुद्धमा ट्विटरले अदालत पुगेको थियो । तर अक्टोबरको सुरुमा, मस्कले आफ्नो अडान परिवर्तन गरे र फेरि सम्झौता पूरा गर्न सहमत भए।

यसैबीच, डेलावेयर अदालतले अक्टोबर २८ सम्ममा सम्झौता पूरा गर्न आदेश दिएको छ। इलोन मस्कले एक दिनअघि ट्विटरको अफिस पुगेर सबैलाई चकित पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here