इण्टरनेट तार व्यवस्थापनमा नयाँ मापदण्ड, पोलका जथाभावी तार हटाउन ४५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इण्टरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको छ ।

प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टिभि तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई आग्रह गरेको हो ।

‘पोलमा झुन्ड्याइएका उपकरणले शहरलाई कुरूप बनाएको, आगलागी लगायतका विद्युतीय दुर्घटनाहरू बढ्दै गएकोमा हाम्रो ध्यानाकर्षण भएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘आगलागी लगायतका विद्युतीय दुर्घटना न्यूनिकरण गरी भरपर्दो विद्युतीय सेवा उपलब्ध गराउन तथा शहरी सुन्दरता समेत कायम राख्न तोकिए बमोजिम संरचना निर्माण तथा व्यवस्थापन गर्नु/गराउनु हुन अनुरोध छ ।’

विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड पनि तोकेको छ ।

‘तोकिएको समयमा व्यवस्थापन नगराउने सेवा प्रदायकहरुको केबल लगायतका उपकरणहरु नेपाल विद्युत प्राधिकरण ऐन,२०४१ बमोजिम प्राधिकरण आफैले हटाउने र यसबाट हुन सक्ने नोक्सानीको लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवारी हुनु पर्ने प्रधिकरणले जनाएको छ ।

प्राधिकरणले अप्टिकल फाइबर/केबल र र विद्युत लाइन तथा भू–सतहबीचको न्यूनतम दूरी तोकेको छ । ४०० भोल्टको नाङ्गो तथा इन्सुलेटेड तार र केबलबीचको न्यूनतम दूरी क्रमशः ८० र ३० सेन्टिमिटर हुनु पर्ने छ । ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दूरी २ मिटर हुनु पर्ने छ ।

अन्य ४०० भोल्टका उपकरणरुसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्ने छ । अप्टिकल फाइबर÷केबल र जमिन सतहबीच पैदलमार्गमा २.४ मिटर र सडकमा ५.५ मिटर तोकिएको छ । न्यूनतम दूरी कायम नगरी सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन दिन रोक लगाइएको छ ।

राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरणहरु पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नु पर्ने छ ।

प्रयोगमा नरहेका तार र अन्य उपकरणहरु तत्काल हटाउनु पर्ने छ । पोलहरुमा लुप वनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तारहरु तान्दा समेत अतिरिक्त लम्वाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ ।

सेवा प्रदायकहरुले निजहरुको तार सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनु पर्ने छ । पोलमा जडित उपकरणहरुमा समेत मार्किङ गर्नु पर्ने छ ।

सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नु पर्ने छ । तारहरुलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरु हटाउनु पर्ने छ ।

तोकिएका मापदण्ड तार तथा उपकरणहरुलाई सेवा प्रदायहरुले ४५ दिनभित्रमा व्यवस्थित गरी प्राधिकरणको सम्वन्धित वितरण केन्द्रलाई जानकारी गराउनु पर्ने छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here