काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६८.१७ प्रतिशतले घटेको छ ।
लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १४ करोड रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा २० करोड ६७ लाख खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य गिरावट आएसँगै लघुवित्तको खुद नाफामा उच्च गिरावट आएको हो । साथै, ऋण असुल हुन नसक्दा ठूलो रकम प्रोभिजनिङ गर्नुपर्दा लघुवित्तको नाफा घटेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.०९ प्रतिशतले घटेर २९ करोड २ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन नाफा ६८.१७ प्रतिशतले घटेर ९ करोड ३९ लाख रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिसम्म लघुवित्तले १९ अर्ब २३ करोड निक्षेप तथा सापटी लिई २१ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल १ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ६६ करोड रुपैयाँ संचित छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि उच्च गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४६.१६ रुपैयाँबाट घटेर १५.१३ रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १५८.७९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७.४५ गुणा, खराब कर्जा ३.८१ प्रतिशत रहेको छ ।