एक वर्षमा साँढे तीन लाख युनिट रगत वितरण, महिला रक्तदाता १६ प्रतिशत मात्रै

काठमाडाैं, १३ साउन । आ.व. २०७५/०७६ मा नेपालभर तीन लाख ४५ हजार १५१ यूनिट रगत वितरण गरिएको छ । गत आर्थिक वर्षको तुलनामा यो करीब ३.६% ले वृद्धि हो ।

यसमा पुरुष रक्तदाता ८३.९ प्रतिशत र महिला रक्तदाता १६.१ प्रतिशत रहेका छन् । केन्द्रीय रक्त सञ्चार सेवा, काठमाडौँबाट ५५,९५३ यूनिट रक्त संकलन गरिएको छ जसमध्ये ४६,४०५ युनिट पुरुष रक्तदाताबाट र ९,५४८ यूनिट महिला रगतदाताबाट संकलन भएको छ ।

यसमा महिला रक्तदाताहरुको हिस्सा १७.०७ प्रतिशत छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाको ५३ औँ बार्षिकोत्सव समारोहमा आज आयोजित कार्यक्रममा यो जानकारी दिइएको हो ।

कार्यक्रमको समुद्घाटन गर्दै काठमाण्डौँ महानगरपालिकाका उपप्रमुख खड्गी (श्रेष्ठ) ले आफू दुर्लभ रक्तसमूह (बी नेगेटिभ) मा पर्ने भएकोले विभिन्न अस्पतालहरुमा रक्तदाताको रुपमा आफ्नो नाम दर्ता गराएको बताइन् ।

हाल नेपालको ७३ जिल्लाका १०८ स्थानमा रक्त सञ्चार केन्द्र तथा एकाइहरू रहेका छन् । आ.व. २०७५/०७६ मा नेपालभरीमा विभिन्न संघ–संस्थाहरूबाट ४,०२१ वटा घुम्ती रक्त संकलन कार्यक्रम भई रगत संकलन गरिएको रेडक्रसले जानकारी दिएकाे छ ।

सो मध्ये केन्द्रीय रक्त सञ्चार सेवाद्वारा मात्रै १,३२९ पटक विभिन्न संघ–संस्थाहरूबाट घुम्ती रगत संकलन भएको हो । केन्द्रीय सेवामार्फत जम्मा ५५,९५३ युनिट रक्त वितरण भएकोमा भएकोमा स्वयंसेवी रक्तदाताबाट संकलित ४६,५०० र सोधभर्ना तर्फ ९,४५३ युनिट रहेको थियो । नेपाल भरी संकलित र वितरित रगतको समूहको तथ्यांक हेर्दा ए, बी, एबी र ओ पोजेटिभको संख्या ९६ दशमलब ९ प्रतिशत रहेको छ भने नेगेटिभ समूहकाे ३.१० प्रतिशत देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here