विश्वको जनसंख्या ८ अर्ब पुग्यो, ६० प्रतिशतभन्दा बढी एसियामा

photo: RONB

काठमाडौं । विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । युएनएफपीएका अनुसार नोभेम्बर १५ सम्ममा विश्वको जनसंख्या ८ अर्ब पुगेको हो ।

नोभेम्बर १५ सम्ममा ८ अर्ब जनसंख्या पुग्ने प्रक्षेपण यस वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको राष्ट्रसंघीय जनसंख्या सम्भाव्य २०२२ मा खुलासा गरिएको थियो ।

विश्वको जनसंख्या पछिल्लो दुई सय वर्षमा तीव्र रुपमा बढेको हो। १ अर्ब जनसंख्या पुग्न लाखौं वर्ष लागेकोमा करिब दुई सय वर्षमै ७ अर्ब पुग्यो।

सन् २०११ मा ७ अर्ब रहेको जनसंख्या २०२१ मै ८ अर्बको नजिक पुग्यो। युएनएफपीएका अनुसार बीसौं शताब्दीको उत्तरार्द्धमा विश्वको जनसंख्यामा ठूलो वृद्धि देखिएको थियो ।

राष्ट्र संघले विश्वको जनसंख्या ९ अर्ब पुग्नका लागि अब १५ वर्ष लाग्ने जनाएको छ । यसैगरी १० अर्ब जनसंख्या सन् २०८० मात्रै पुग्ने जनाएको छ ।

युएनएफपिएका अनुसार संसारभरि अहिले एक जना महिलाले औसतमा २।४ जना बच्चा जन्माउँछन्। पुरूषको औसत आयु ७१ र महिलाको ७६ वर्ष छ।

अहिले सबैभन्दा धेरै जनसंख्या चीनमा छ। चीनमा १ अर्ब ४४ करोड मानिस छन् भने भारत दोस्रो नम्बरमा छ। भारतको जनसंख्या १ अर्ब ४० करोड छ। अबका केही वर्षमा भारतको जनसंख्याले चीनलाई उछिन्ने अनुमान छ।

वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०१९ का अनुसार विश्वको कुल जनसंख्यामध्ये ६० प्रतिशतभन्दा बढी एसियामा छ। चीन र भारत सबैभन्दा बढी जनसंख्या हुने देशमा क्रमशः पहिलो र दोस्रो नम्बरमा पर्छन्।

२०२७ मा भारतले चीनलाई उछिन्ने अनुमान छ। सन् १९८७ को जुलाई ११ का दिन विश्वको जनसंख्या ५ अर्ब पुगेको थियो । २ सय वर्षअघि विश्वको जनसंख्या १ अर्ब थियो र त्यो १ अर्ब जनसंख्या हुन लाखौं वर्ष लागेको थियो ।

तर १ अर्बबाट ७ अर्ब पुग्न करिब २ सय वर्षमात्र लाग्यो । सन् २०११ मा विश्वको जनसंख्या ७ अर्ब पुगेको थियो । त्यसयताको ११ वर्षमा विश्वमा १ अर्ब जनसंख्या थपिँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here