पुनर्बीमा कम्पनीको खुद नाफा १०.४५ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको नाफामा सुधार आएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १०.४५ प्रतिशतले बढेकोे छ ।

कम्पनीले गत असार मसान्तसम्म जीवन र निर्जीवन बीमा व्यवसायबाट कुल ६७ करोड ३८ लाख ७८ रुपैयाँ नाफा आर्जन गरेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६१ करोड १ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको र्निजीवन बीमा व्यवसाय तर्फको नाफा घटेको छ भने जीवन तर्फको झन्डै ३ गुणाले बढेको छ । समीक्षा अवधिमा कम्पनीले जीवन बीमा व्यवसायतर्फ १० करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष जीवनतर्फ ३ करोड ४७ लाख नाफा कमाएको थियो ।

यस्तै, निर्जीवन बीमातर्फ भने कम्पनीको नाफा १ करोड ३ लाख रुपैयाँ घटेको छ । गत असारसम्म कम्पनीले निर्जीवन बीमातर्फ ५६ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । जबकी अघिल्लो वर्षकोा सोही अवधिमा ५७ करोड ५३ लाख रुपैयाँ कमाएको छ ।

गत असार मसान्तसम्म कम्पनीले निर्जीवन व्यवसायबाट ८ अर्ब ८७ करोड रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ अर्ब ८८ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।

हाल ११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको कुल ६ अर्ब ८२ करोड रुपैयाँ संचिति छ । जसमा निर्जीवनतर्फको जगेडा कोषमा ६ अर्ब १३ करोड रुपैयाँ र जीवन बीमातर्फ ६९ करोड ७६ लाख रुपैयाँ छ ।

कम्पनीको निर्जीवन बीमा कोषमा २८ करोड ४७ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषको विवरण भने वित्तीय विवरणमा उल्लेख छैन ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ५.७८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६१.०५ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here