काठमाडाैं, १४ साउन । बैंकिङ कसुरमा नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेको दरबारमार्गस्थित क्लब डेजाभुका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन् ।
उनलाई हङकङबाट नेपाल आउने क्रममा आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका उनीविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।
उनले विश्वराम श्रेष्ठसँग सापटी लिएको २ करोड फिर्ता गर्न उक्त रकम बराबरको चेक दिएकाे तर, उनको बैंक खातामा पर्याप्त रकम नभएपछि चेक बाउन्स भएको थियो ।
चेक बाउन्स भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा गत पुस १३ गते श्रेष्ठविरुद्ध बैंकिङ कसुर अपराधमा जाहेरी दर्ता भएको बताइएकाे छ ।
त्यसपछि फरार रहेका श्रेष्ठविरुद्ध महानगरीय प्रहरी कार्यालय काठमाडौंको अनुरोधमा प्रहरीले माघ १५ गते डिफ्युजन नोटिस जारी गरेको थियो ।