सुदूरपश्चिम प्रदेशमा कृषि कर्जा २६ प्रतिशत बढ्यो, दूध र मासुजन्य उत्पादनमा वृद्धि

फाइलफोटो

काठमाडौं,७ मंसिर । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट सहुलियत कर्जा ४० प्रतिशत बढेको छ ।

नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ वटै जिल्लाहरुको स्थलगत तथा गैरस्थलगतरुपमा अध्ययन गरी तयार गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक आर्थिक गतिविधि अध्ययन सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

२०७९ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०७८ असार मसान्तको तुलनामा ४०.२४ प्रतिशतले वृद्धि भई १० अर्ब ५६ करोड पुगेको छ ।

गत वर्षको सोही अवधिमा यस शीर्षकमा ७ अर्ब ५३ करोड कर्जा प्रवाह भएको थियो । त्यसैगरी २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको पुनरकर्जा २०७८ असार मसान्तको तुलनामा १९.७२ प्रतिशतले वृद्धि भई ५ अर्ब ३३ करोड ४३ लाख पुगेको छ ।

गत वर्ष सोही अवधिमा यस शीर्षकमा ४ अर्ब ४५ करोड ५५ लाख कर्जा प्रवाह भएको थियो ।

२०७९ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०७८ असार मसान्तको तुलनामा २६.०० प्रतिशतले वृद्धि भई रु. १५ अर्ब २२ करोड ५४ लाख पुगेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४७.६३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवामा १८.७६ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम ०.००३ प्रतिशत सूर्तिमा प्रवाह भएको छ ।

समीक्षा अवधिमा यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १०.१९ प्रतिशत रहेको छ ।

कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश ६५.५४ प्रतिशत, कञ्चनपुरको १९.८० प्रतिशत, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, अछाम, बैतडी, तथा बाजुराको अंश क्रमशः ३.८१ प्रतिशत, २.४६ प्रतिशत, २.४१ प्रतिशत, १.९५ प्रतिशत, १.४९ प्रतिशत, १.४८ प्रतिशत र १.०६ प्रतिशत रहेको छ ।

पशुपंन्छी उत्पादन: समीक्षा अवधिमा दूध उत्पादन ३.०९ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिमा दूध
उत्पादन ४.५४ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा मासुजन्य उत्पादन २.३७ प्रतिशतले बढेको छ भने गत वर्ष सोही अवधिमा मासु उत्पादन २.४० प्रतिशतले बढेको थियो ।

मासुजन्य उत्पादनतर्फ कुखुरा तथा हाँसको मासु उत्पादन ४.५७ प्रतिशत, खसी-बोका-भेडाको मासु उत्पादन २.६८ प्रतिशत, सुंगुर-बंगुरको मासु उत्पादन २.८५ प्रतिशत,भैंसी-राँगोको मासु उत्पादन १.२९ प्रतिशतलेबढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here