धितोपत्र सूचना जोगाउन डिजास्टर रिकभरी संयन्त्र स्थापना गर्दै सेबोन

काठमाडौं, १५ साउन । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले महत्वपूर्ण तथ्यांक तथा सूचनाको सुरक्षाका लागि डिजास्टर रिकभरी संयन्त्र स्थापना गर्ने भएको छ ।

बजार कारोबार, राफसाफ तथा फछ्र्यौट संयन्त्र र केन्द्रीय निक्षेप प्रणाली, वेयरहाउससँग सम्बन्धित अभिलेखको दिगो, भरपर्दो तथा सुरक्षित प्रयोगका लागि स्तरीय एवं अन्तर्राष्ट्रिय मापदण्ड तथा अभ्यास अनुरुपको डिजास्टर रिकोभरी संयन्त्रको स्थापना तथा व्यवस्थापन गर्ने योजना रहेको बोर्डका प्रवक्ता निरज गिरीले बताएका छन् ।

बोर्डको आ.व. २०७६।७७ को नीति तथा कार्यक्रम अनुरुप बोर्ड संचालक समितिको निर्णयानुसार बोर्डको सूचना प्रविधि नीति, २०७६ पारित भइ यही २०७६ साउनदेखि लागू गरिएको छ ।

बोर्डले सूचना प्रविधिसम्बन्धी नीति पहिलो पटक ल्याएको हो ।

त्यसैगरी बजार नियमन, धितोपत्र बजार संचालन तथा केन्द्रीय निक्षेप सेवा, बजारका अन्य गतिविधिहरुमा प्रयोग गरिने सूचना प्रविधिका साधन र प्रणाली विकास तथा खरिद धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था(आएस्को)को सिद्धान्तअनुरुप गरिने पनि उनले बताएका छन् ।

यसै आर्थिक वर्षमा बजारसम्बन्धी गतिविधिहरुको अनुगमन तथा सुपरिवेक्षण गर्न बजार सञ्चालक तथा नियमन निकायमा सूचना प्रविधियुक्त बजार सुपरिवेक्षण प्रणालीको व्यवस्था पनि गरिने भएको छ ।

साथै, सफ्टवेयर विकास वा अधिग्रहण, प्राविधिक मूल्याङ्कन, पूर्व हस्तान्तरण निरीक्षणका लागि उपयुक्त मानक निर्धारण गर्ने सम्बन्धमा पनि बोर्डले आवश्यक कदम चाल्ने बताइएको छ ।

बजार प्रणाली र केन्द्रीय निक्षेप प्रणालीको संपरीक्षणको व्यवस्था पनि यसै वर्ष गर्ने भनिएको छ ।

गिरीका अनुसार बोर्डको सूचना प्रविधि नीति कार्यान्वयका लागि बोर्डका उप कार्यकारी निर्देशकको संयोजन रहने गरी पाँच सदस्यीय समिति हुने व्यवस्था गरिनुका साथै उक्त नीति कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन बोर्डको उच्च व्यवस्थापनले गर्ने व्यवस्था समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here