बीमा प्राधिकरणले ७ वटा कम्पनीलाई दियो लघुबीमाको लाइसेन्स (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ७ नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको छ।

बीमाको दायरा र पहूँच विस्तार गर्न भन्दै सातवटै प्रदेशमा जीवन र निजीवन लघुबीमा कम्पनी स्थापना गर्ने उदेश्यले ७ लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।

लघुबीमाका लागि ३१ कम्पनीले आवेदन दिएकोमा प्राधिकरणले ७ वटालाई लाइसेन्स दिएको हो । लाइसेन्स पाउनेमा ३ वटा जीवन लघुबीमा र ४ वटा निर्जीवन लघुबीमा कम्पनी रहेका छन् । यी ७ कम्पनीको मुख्य कार्यालय छुट्टाछुट्टै प्रदेशमा रहने छ ।

जीवनतर्फ गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले लाइसेन्स पाएका छन् । त्यसैगरी, निर्जीवनतर्फ लाइसेन्स पाउनेमा ट्रष्ट माइक्रो, नेपाल माइक्रो, स्टार माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेका छन् ।

जस अनुसार गार्डियन माइक्रोको मुख्य कार्यालय मोरङको विराटनगर (प्रदेश १), क्रेष्टको सुर्खेत वीरेन्द्रनगर (कर्णाली प्रदेश) र लिवर्टीको पोखरा ८ कास्की (गण्डकी प्रदेश) हुने छ ।

त्यसैगरी निर्जीवन लघुबीमा सञ्चालनको लागि १६ वटा कम्पनीले आवेदन दिएका थिए । जसमध्ये प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स गरी कूल ४ वटालाई छनोट गरेको छ ।

त्यस्तै, ट्रष्ट माइक्रो इन्स्योरेन्सको मुख्य कार्यालय लुम्बिनी प्रदेशको रुपन्देहीस्थित बुटवल २ मा हुने छ । नेपाल माइक्रो इन्स्यारेन्सको बागमती प्रदेशको चितवनस्थित भरतपुर १ मा, स्टार माइक्रो इन्स्योरेन्सको मधेश प्रदेशको धनुषास्थित जनकपुरधाममा र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको मूख्य कार्यालय सुदुरपश्चितम प्रदेशको कैलालीस्थित धनगढी ३मा हुने प्राधिकरणले जानकारी गराएको छ ।

साविक बीमा समितिले भदौ १० गते ३५ दिने म्याद राखेर हरेक प्रदेशमा एउटा पाउने गरी ७ वटा लघुबीमा कम्पनीके लाइसेन्सका लागि आवेदन आह्वान गरेको थियो । जसमा १५ जीवन र १६ निर्जीवन गरी ३१ कम्पनीले आवेदन दिएका थिए ।

आवेदक कम्पनीहरुको मूल्यांकन गरी प्राधिकरणले हरेक प्रदेशमा १/१ वटा गरी ७ लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत लघुबीमा कम्पनी स्थापना गर्ने घोषणा गरेको थियो । सोही अनुसार बीमाको दायरा र पहूँच विस्तार गर्न भन्दै सरकारले नयाँ कम्पनीलाई लाइसेन्स वितरण गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत लघुबीमा कम्पनी स्थापना गर्ने घोषणा गरेकोथियो । जसलाई कार्यान्वयन गर्न समितिले लघुबीमा निर्देशिका जारी गरेर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

आर्थिक चलखेलको भरमा आफ्नै नीति विपरित समितिले लाइसेन्स वितरणको गरेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । यहीक्रममा कम्पनीहरू बीच लाइसेन्स लिन प्रतिस्पर्धा चलेको थियो ।

समितिले लघुबीमा कम्पनीको स्थापनाका लागि ७५ करोड रुपैयाँ चुक्ता पूँजी तोकेको छ । गत चैतमा मात्र जीवन र निर्जीवन बीमा कम्पनीको संख्या घटाउन साढे दुई गुणाले चुक्ता पूँजी बढाउने निर्णय गरेको थियो ।

एकतिर पूँजी बढाएर बीमा कम्पनीलाई मर्जरका लागि दबाब र अर्कोतिर लाइसेन्स वितरणले समितिको दोहोरो चरित्र देखिएको भन्दै विज्ञहरूले आपत्ति जनाएका थिए । विदेशमा लघुबीमाकम्पनीको अभ्यास भएपनि नेपालमा भने ठूला बीमा कम्पनीहरले नै लघुबीमा व्यवसाय गदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here