थापाथली झडपमा नगर प्रहरी प्रमुखसहित ३६ प्रहरी घाइते

काठमाडौं, १२ मंसिर । थापाथलीको सुकुम्वासी बस्ती हटाउन जानेक्रममा बस्तीका मानिसहरूको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् ।

घाइतेमध्ये ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको टाउकोमा चोट लागेको बताइएको छ । घाइतेको छाती, ढाड र खुट्टामा चोट लागेको महानगरपालिकाले जनाएको छ ।

बागमती नदी किनारामा निर्माण भएका घर टहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचनाअनुसार मङ्सिर ४ गतेभित्र बस्तीका संरचना खाली गर्नुपर्ने थियो । सो क्रममा महानगरको टोली सो स्थानमा पुगेसँगै स्थानीयले आक्रमण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here