आईएमईलाई आइपीओ निष्काशनको बाटो खुल्यो, बन्यो पहिलो पब्लिक रेमिट्यान्स कम्पनी

काठमाडौं, १६ मंसिर । आइएमईको २२औँ साधारणसभा सम्पन्न भएको छ।

नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार राजधानी काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा सम्पन्न गरेको २२औँ साधारणसभाले कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गरेको हो। 

योसँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ। साधारणसभामा संक्षिप्त मन्तव्य दिँदै आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्षअघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरुको सुझाव र सल्लाहकै बाबजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गरे। 

अध्यक्ष ढकालले आम सेवाग्राहीबीच आईपीओसहित पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै आईएमईको आजसम्मको व्यावसायिक यात्रामा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्धनिर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल यूगमा प्रवेश गरेको औल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए।

साधारणसभालाई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एवम् आईएमईका सञ्चालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गरेका थिए। 

अब नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले शीघ्र आइपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए।

यो प्रक्रियाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ। सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रकृया अगाडि बढ्नेछ।

रेमिट्यान्स समाधान प्रदायकहरू मध्येको अग्रणी आइएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ। आइएमईले विश्वभर विश्व–स्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ। आइएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ।

यस्तो छ आइएमईको इतिहास :–
 
नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई सन् २००१ मा आजकै दिन स्थापना भएको हो ।

सानो स्केलमा फ्याक्स मेसिनको सहायताबाट सेवाको शुुरुवात गरेको आइएमईले वित्तीय पहुँचबाट टाढा रहेका नेपाली नागरिकलाई रेमिटेन्सकोे माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको छ ।

अन्तर्राष्ट्रिय स्तरको रेमिटेन्स सेवामा नेपाली लगानी र ब्राण्डका लागि आइएमईले आफ्नो एउटा अलग र विशिष्ट पहिचान बनाएको छ ।

तत्कालिन समयमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दुखले आर्जन गरेको रकम नेपालमा रहेका आफन्तसम्म पु-याउनका लागि औपचारिक माध्यमको ठुलो अभाव थियो ।

औपचारिक प्रणालीमार्फत स्वदेश रकम भित्र्याउने कार्य निक्कै जोखिमयुक्त र चुनौतीपूर्ण थियो । त्यस्तो चुनौतीलाई चिरेर स्थापना भएको आइएमई आज २२ वर्षमा प्रवेश गरेको छ ।

व्यवसायमा स्थायित्व, कर मार्फत राज्यलाई सहयोग र मुलुकभित्रै रोजगारीका अवसरहरूको सिर्जना लगायतका उद्देश्य लिएर आजभन्दा २२ वर्ष अघि आजकै दिनमा स्थापना भएको आइएमई रेमिटेन्स सेवाको पर्यावाची आइएमई गरौं भन्ने भनाइसहित आम नेपालीको जिब्रोमा झुण्डिएको छ । आम नागरिकको जीवनशैलीको अभिन्न अंगको रुपमा आज आइएमई स्थापित भएको छ । 

नेपालको पहिलो रेमिटेन्स सेवा प्रदायकको रूपमा स्थापित कम्पनी २२ वर्षको अवधिमा बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनका क्षेत्रहरूमा समेत आफ्नो लगानी विस्तार गर्दै स्वउद्यमशीलताको विकासमा अग्रडी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

राज्यलाई सबैभन्दा बढी करमा योगदान गरे वापत लगातार तीन पटकसम्म नेपाल सरकारबाट सीआइपी सम्मान प्राप्त यस कम्पनी स्वदेशी एवम् विदेशी गरी दर्जनौं संघ-संस्थाबाट सम्मानित भइसकेको छ ।

प्रत्यक्ष तथा अप्रत्यक्ष गरी हजारौँको संख्यामा रोजगारी सिर्जनामा सफल आइएमईलाई आम नेपालीहरूले एउटा भरपर्दो र विश्वसनीय ब्राण्डको रूपमा हेर्दै आएका छन् । 

आइएमईको स्थापनापछि औपचारिक संजालमार्फत आप्रवाह हुने रेमिटेन्सको मात्रा ह्यवत्तै बढेको देखिन्छ । रेमिटेन्सले देशको खास खास अप्ठ्यारा अवस्था जस्तै :– भुकम्प नाकाबन्दी जस्ता समयमा महत्त्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ । रेमिटेन्स आयातको मुख्य श्रोत हुनुका साथै विदेशी मुद्राको संचितिको मुख्य श्रोत पनि हो । 

आइएमईले समय सापेक्ष र अत्याधुनिक प्रविधिको माध्यमबाट डिजिटल सेवा प्रदान गर्न आइएमई पे मोवाइल वलेटको संचालन गरिरहेको आइएमई पे वालेटमा हाल ३० लाख भन्दा धेरै प्रयोगकर्ताहरुले रियल टाइम डिजिटल भुत्तानी तथा रेमिटेन्स सेवाको लाभ लिई रहेका छन् ।

देशको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेल्ने रेमिटेन्स आप्रवाहलाई औपचारिक माध्यममा ल्याउन आजको यस विशेष अवसरमा नेपाल सरकारका हरेक प्रयासहरुमा आइएमई एक अग्रणी रेमिटेन्स सेवा प्रदायक संस्थाको रुपमा सदैव सँगसँगै रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here