विद्युतीय पोलका जथाभावी तार हटाउन प्राधिकरणको पुनः ताकेता, नटेरे आफैँ काटिदिने चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इण्टरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न पुनः ताकेता गरेको छ ।

कात्तिक १५ गते सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको प्राधिकरणले आइतवारबार पुनः ताकेता गरेको हो ।

तोकिएको समयमा अव्यवस्थित तार नहटाएमा प्राधिकरण आफैँले हटाइदिने र त्यसबाट सेवा बन्द हुन पुगेमा त्यसको जिम्मेवार सेवा प्रदायक नै हुने सूचनामा उल्लेख छ ।

सहरको सुन्दरता बिग्रिएको र दुर्घटना बढेको भन्दै प्राधिकरणले बिजुलीका खम्बा प्रयोग गरि अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका अनावश्यक तारका गुजुल्टा तथा जथाभाबी झुन्ड्याइएका उपकरणहरू हटाउन भनेको हो ।

यसअघि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड पनि तोकेको छ ।

‘तोकिएको समयमा व्यवस्थापन नगराउने सेवा प्रदायकहरुको केबल लगायतका उपकरणहरु नेपाल विद्युत प्राधिकरण ऐन,२०४१ बमोजिम प्राधिकरण आफैले हटाउने र यसबाट हुन सक्ने नोक्सानीको लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवारी हुनु पर्ने प्रधिकरणले जनाएको छ ।

प्राधिकरणले अप्टिकल फाइबर/केबल र र विद्युत लाइन तथा भू–सतहबीचको न्यूनतम दूरी तोकेको छ । ४०० भोल्टको नाङ्गो तथा इन्सुलेटेड तार र केबलबीचको न्यूनतम दूरी क्रमशः ८० र ३० सेन्टिमिटर हुनु पर्ने छ । ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दूरी २ मिटर हुनु पर्ने छ ।

अन्य ४०० भोल्टका उपकरणरुसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्ने छ । अप्टिकल फाइबर÷केबल र जमिन सतहबीच पैदलमार्गमा २.४ मिटर र सडकमा ५.५ मिटर तोकिएको छ । न्यूनतम दूरी कायम नगरी सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन दिन रोक लगाइएको छ ।

राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरणहरु पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नु पर्ने छ ।

प्रयोगमा नरहेका तार र अन्य उपकरणहरु तत्काल हटाउनु पर्ने छ । पोलहरुमा लुप वनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तारहरु तान्दा समेत अतिरिक्त लम्वाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ ।

सेवा प्रदायकहरुले निजहरुको तार सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनु पर्ने छ । पोलमा जडित उपकरणहरुमा समेत मार्किङ गर्नु पर्ने छ ।

सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नु पर्ने छ । तारहरुलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरु हटाउनु पर्ने छ ।

इण्टरनेट तार व्यवस्थापनमा नयाँ मापदण्ड, पोलका जथाभावी तार हटाउन ४५ दिने अल्टिमेटम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here