भारतका दुई कलेज कालोसूचीमा, शैक्षिक योग्यता मान्य नहुने

काठमाडौं । नेपाल फार्मेसी परिषद्ले भारतका दुईवटा शैक्षिक संस्थालाई कालो सूचीमा राखेको छ ।

परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले आज एक सूचना जारी गर्दै दुई संस्थानलाई कालोसूचीमा राखिएको जानकारी गराएका हुन्।

कालो सूचीमा पर्नेमा भारतको हिमाचल प्रदेशमा रहेको आईसी युनिभर्सिटी र ओडिसामा रहेको गजपति कलेज आफ फार्मेसी छन् ।

काउन्सिलको निरीक्षण प्रतिवेदनका आधारमा ती कलेजहरुलाई कालो सूचीमा राखिएको र आगामी दिनमा ती कलेजको शैक्षिक योग्यतालाई मान्यता नदिइने पनि काउन्सिलले जनाएको छ ।

त्यस्तै, सीटीईभीटीअन्तर्गतका तीनवटा नेपाली कलेजले पनि निरीक्षण प्रतिवेदन नबुझाएको भन्दै काउन्सिलले यथाशीघ्र कागजपत्र बुझाउन निर्देशन दिएको छ ।

प्रतिवेदन नबुझाउनेमा सहिद स्मारक जनस्वास्थ्य कलेज काठमाडौं, मोडेल कलेज अफ टेक एजुकेसन, वीरगञ्ज र चितवन मेडिकल कलेज छन् ।

आवश्यक कागजपत्र प्राप्त नभए त्यहाँ अध्ययनरत विद्यार्थीलाई परिषद् नाम दर्ता परीक्षामा सामेल गराउन परिषद् बाध्य नहुने पनि जानकारी दिइएको छ।

यस्तै परिषद्‌द्वारा लिइने डिप्लोमा इन फार्मेसीको २०औँ नाम दर्ता परीक्षा यही मङ्सिर २४ गते नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानो भर्‍याङमा हुने पनि सूचना मार्फत जानकारी गराइएको छ।