सिर्सिया नदी दुर्गन्धितको प्रमुख कारक उद्योगको फोहोर पानी

वीरगञ्ज । सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्न नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमन सुरु भएको छ । नदी आसपास रहेका वीरगञ्जका उद्योगहरुका कारण सिर्सिया फोहोर भएकाले प्रदुषण नियन्त्रणका लागि अनुगमन सुरु गरिएको हो ।

सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानद्वारा मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्वर २१ सिर्सिया आसपास रहेका ४ वटा उद्योगको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा ती उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर पानी सोझै नदीमा मिसाउने गरेको भेटिएको अनुगमनमा खटिएका जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

टोलीले श्री निधी टेक्सटायल्स प्रा।लि।, ब्रिटानीय नेपाल प्रा.लि, शक्ति दाल मिल र शक्ति वायरको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा निधी टेक्सटायल्सले उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा मिसाइदिने गरेको पाइएको छ ।

यो उद्योगले दैनिक डेढ लाख लिटर केमिकल सहितको फोहोर पानी उद्योगबाट सोझै सिर्सिया नदीमा मिसाउने गरेको छ ।

उद्योगले अहिलेसम्म पनि वाटर ट्रिटमेण्ट प्लाण्ट नराखेको र फोहोर पानी नदीमा फाल्ने गरेको वीरगञ्ज महानगरपालिका वातावरण शाखाका प्रमुख देवेन्द्र चौधरीले बताए ।

यो उद्योगले फोहोर पानीका साथै नदी दुर्गन्धित बनाउने छाइँ ९खरानी० पनि नदीमै फाल्ने गरेको भेटिएको उनले बताए । उद्योगलाई अनुगमन टोलीले तत्काल ट्रिटमेण्ट राख्न र फोहोर पानी सोझै नदीमा नमिसाउन चेतावनी दिएर आएको पनि उनले बताए ।

यस्तै विस्कुट उत्पादन गर्ने ब्रिटानीयाले ट्रिटमेण्ट प्लाण्ट हुँदाहुँदै पनि पानी प्रशोधन नगरी फोहोर पानी सोझै नदीमा मिसाइदिने गरेको स्थानीय बताउँछन् । टोलीले पनि पानी प्रशोधन नगरी सोझै नदीमा मिसाएको भेटेको थियो ।

यस्तै शक्ति वायर उद्योगले त्यहाँबाट निस्केको पानी जम्मा गर्न पोखरी बनाएको भए पनि प्रभावकारी नहुँदा फोहोर पानी नदीमा नै मिसिन पुगेको भेटिएको चौधरी बताउँछन् ।

नदीलाई दुर्गन्धित बनाउने गरी लेदोसहितको फोहोर पानी फाल्ने उद्योगलाई आज पहिलो पटक चेतावनी दिइएको र आउँदा दिनमा यस्तो कार्य दोहोरिए सोझै कारवाही गरिने अनुगमनमा गएका महानगरका उपमेयर इम्तियाज आलमले बताए ।

सिर्सिया नदी सफा बनाउने अभियनमा उद्योगीले आफ्ना उद्योगमा ट्रिटमेण्ट प्लाण्ट राखेर सहयोग गर्नु पर्नेमा जिम्मेवारीबाट पन्छिँदै आफ्नो स्वार्थ मात्रै नहेर्न उद्योगीहरुलाई आग्रह गरे ।

उपमेयर आलमको नेतृत्वमा गएको टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, महानगरको वातावरण शाखाका देवेन्द्र चौधरी, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको सक्रियतामा आइतबार बसेको बैठकले नदी प्रदुषण नियन्त्रणका लागि उद्योगको अनुगमन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप मंगलबारबाट उद्योगको अनुगमन सुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here