भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि घटाउने तयारी

काठमाडौं १ पुस । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आइओसीले निगमलाई पुस १ गते (डिसेम्बर १६ तारिख) मा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।

आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ९० पैसा र डिजेलमा १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटाएर पठाएको छ।

नेपालमा मूल्य नघटाउँदासम्म निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रुपैयाँ, डिजेलमा करिब १३ रुपैयाँ नाफा छ ।

निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रुपैयाँ छ ।

यो पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही घटाउने तयारी रहेको निगम स्रोतले जनाएको छ ।

पछिल्लो समय पेट्रोलियम पद्धार्थको भाउ लगातार घटेर आए पनि आयल निगमले भने घटाएको छैन । भदौ यता निगम लगातार नाफामा गए पनि उपभोक्तालाई भने राहत दिएको छैन ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here