आइएमई ग्रुपले बनाइरहेको मौलाकालीका केबुलकार फागुनदेखि सञ्चालन, डेढ अर्ब लगानी

नवलपरासी । बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबुलकार चढ्न पाइने भएको छ ।

निर्माण कम्पनी ‘मौलाकाली केबुलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबुलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ ।

गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबुलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताए ।

यसका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी एक हजारभन्दा बढी रुख कटान गरिएको थियो । वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा सालकासहित १ हजार ३८ रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

आइएमइ समूहले गैँडाकोटमा केबुलकार सञ्चालनमा ल्याउन लागेको हो । मौलाकाली केबुलकार प्रालिले करिब १ अर्ब ५० करोड रुपैयाँ लागतमा आयोजना अगाडि बढाएको हो । यही पुस महिनाबाट सञ्चालनमा ल्याउने तयारीसहित केबुलकार निर्माण अगाडि बढाइएको भए पनि कोभिडलगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको कम्पनीले जनाएको छ ।

केबुलकार आयोजनामा ५१ प्रतिशत सेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने आइएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । स्थानीयले कम्तिमा ५० हजारदेखि बढीमा ५ लाख रुपैयाँसम्म लगानी गर्ने ढकालको भनाइ छ । केबुलकारले स्थानीयसहित करिब ४०० व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ ।

मौलाकाली मन्दिर नजिकै रहेको हेलिप्याडमा ५० कोठाको होटल, लज पनि निर्माणाधीन अवस्थामा रहेको व्यवस्थापक सावदले बताए । मन्दिर नजिकै रहेको हेलिप्याडमा केबुलकारको टपस्टेशन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन हुने उनले जानकारी दिए ।

“हेलिप्याड भएको ठाउँमा टपस्टेशन निर्माण गरे पनि हेलिप्याडसमेत निर्माण हुन्छ”, उनले भने, “टपस्टेशनको माथि होटल र त्यो भन्दामाथि हेलिप्याड राख्ने गरी निर्माणको काम भइरहेको छ ।”

केबुलकारले एकतर्फी लम्बाई १ हजार २०० मिटर लामो हुनेछ । यसका लागि छ टावर निर्माण गरिनेछ । केबुलकारमा १४ डब्बा राखेर यात्रु ओसारिने जनाइएको छ । केबुलकारमा थप एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन् । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

केबुलकार सञ्चालनमा आएपछि प्रतिदिन छ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ । केबुलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटको यात्रामा मौलाकाली मन्दिर पुग्ने व्यवस्थापक सावदले बताए । अहिले मन्दिर पुग्न १ हजार ८८२ खुड्किलो उक्लिँदा करिब ४५ मिनेट समय लाग्ने गरेको छ ।

केबुलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो । चन्द्रागिरि हिल्स र मनकामना केबुलकार निर्माण गरेको अस्ट्रेलियन कम्पनीले नै मौलाकाली केबुलकार निर्माणको काम गरिरहेको जनाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here