काठमाडौं, ४ पुस । शेयर बजारमा झिनो अंकको बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५१ कम्पनीको ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँ बराबरको २६ लाख ९९ हजार ३३१ कित्ता शेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ४ वटा घटेको छ भने अन्य बढेको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । आइतवार १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
झिनो अंकले बढेको बजारमा धौंलागिरी लघुवित्त कम्पनीको शेयरमूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ । त्यसैगरी, खप्तड लघुवित्त ६.०८, सीवाइसी नेपाल लघुवित्त ५.९८, नबिल ब्यालेन्स फण्ड २ को सेयर मूल्य ५.०९ प्रतिशतले बढेको छ ।
इष्टर्न हाइड्रोपावर कम्पनी र ग्लोबल आईएमई ब्यालेन्स फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी प्राइम कमर्शियल बैंकको भएको छ । यसको आज ६ करोड ९३ लाख भन्दा बढीको कारोबार भएको छ ।
फरवार्ड माइक्रोफाइनान्सको ५ करोड ४९ लाख र हिमालय डिस्टिलरीको ४ करोड २७ लाखको कारोबार भएको छ ।