नयाँ सरकारलाई शेयर बजारको स्वागत, लगानीकर्ताको मनोबल बढ्दा उच्च अंकले बढ्यो नेप्से

काठमाडौं । नयाँ सरकारलाई शेयर बजारले पनि स्वागत गरेको छ । निरन्तर घटिरहेको शेयर बजार सोमवार उच्च अंकले बढेको हो ।

आइतबार पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोसँगै अब नयाँ अर्थमन्त्री आउने अपेक्षाका साथ लगानीकर्ताको मनोबल बढ्दा नेप्सले बिहानै छलाङ मारेको थियो ।

शेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा समेत चिनिने विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाले बजार बढेको हो । यसअघि दुई पटक नेप्सेले अल टाइम हाइ रेकर्ड बनाउँदा पौडेल नै अर्थमन्त्री थिए ।

साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)५६.८६ अंकले बढेर १९२४.०७ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५० कम्पनीको २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँ बराबरको ५६ लाख ५३ हजार ५३ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक हरियो भएको छ । उच्च अंकले बढेको बजारमा झन्डै १ दर्जन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गोर्खा फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, श्रृजनशील लघुवित्त, रिलायन्स फाइनान्स, हिमालयन पावर, घलेम्दी हाइड्रो, शिवश्री हाइड्रो, बुद्धभूमि नेपाल, युनियन हाइड्रोपावर लगायत कम्प्नीको शेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

आज नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यसको आज २० करोड ८८ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here