नाफिजको नयाँ कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्षले भनेः ‘नयाँ सरकारको पहिलो प्राथमिकता ब्याजदर घटाउने हुनुपर्छ’

काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि नवगठित सरकारले पहिलो प्राथमिकतामा बैंक ब्याजदरलाई राख्नु पर्ने बताएको छ ।

संकटमा रहेको अहिलेको अर्थतन्त्रलाई सुधारात्मक बाटोतर्फ अघि बढाउन सरकारले न्यूनतम २ प्रतिशत ब्याजदर घटाउन राष्ट्र बैंकसँग समन्वय गर्नु पर्ने परिसंघका अध्यक्ष बिष्णु अग्रवालले बताएका हुन् ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष बिष्णु अग्रवालले तरलता संकुचन हुँदै जाँदा अर्थतन्त्रका गतिविधिहरु रोकिन थालेको बताएका छन् । तरलता संकुचन हुँदा बैंकिङ क्षेत्रले माग अनुसार कर्जा प्रवाह गर्न नसक्दा ब्याजदर उच्च भएको उनको भनाइ छ ।

बैंक ब्याजदर कारण नै अर्थतन्त्र चलायमान हुन नसकेकाले नयाँ सरकारलाई २ प्रतिशत विन्दुले ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउन सुझाव दिएका हुन् ।

‘नेपालकोअर्थतन्त्रले चुनौतीपुर्ण अवस्थाको सामना गरिरहेको छ’ उनले भने, ‘नयाँ सरकारले पहिलो चरणमा २ प्रतिशत व्याजदर घटाइदियो भने अर्थतन्त्र चलायमान हुन सक्छ ।’

पछिल्लो समय अर्थतन्त्रमा चिन्ता फैलिएको र व्यवसाय धराशयी बन्दै गएको अवस्थामा परिसंघले चिन्ता व्यक्त गरेको छ । विशेषगरी लगानी योग्य रकमको अभावका कारण अर्थतन्त्र खुम्चिरहेको उनले बताए ।

उनका अनुसार हाल बजारमा सबै किसिमका उत्पादनको समग्र माग घटेको छ । उद्योगहरुको माग ३० प्रतिशतले घटेको अध्यक्ष अग्रवालले बताए। त्यस्तै एफएमसीजी, पर्यटन र सूचना प्रविधि बाहेकका सबै क्षेत्रमा तरलता अभावका कारणले माग घटेसँगै व्यवसाय नै धराशय बनेको उनको भनाइ छ ।

उद्योगी र व्यापारीका लागि यो ठुलो समस्या र चिन्ताको विषय रहेको उनले बताए । यही कारण हाल मुलुकभरका कतिपय उद्योग कलकारखाना बन्द भईरहेका छन् । ‘त्यसकारण पनि अर्थतन्त्र चलायमान बनाउनका लागि व्याज घटाउनुपर्छ’ उनी भन्छन्, ‘यसका लागि परिसंघले सरकारसँग पहल गरिरहेको छ ।’

अध्यक्ष अग्रवालले पुनरकर्जावापतको ६० अर्ब हाराहारी रकम पुस मसान्तमा प्रणालीबाट बाहिरिन सक्नेतर्फ बताए । स्थानीय तहको बचतलाई निक्षेपमा गणना गर्न दिइएको अवधि पनि पुसमै सकिने भएकाले तरलता झनै असहज बन्न सक्नेमा परिसंघले चासो देखाएको छ ।

नयाँ ग्राहकलाई अहिलेको निर्देशिकाअनुसार अगाडि बढ्न र पुरानालाई समयसीमा दिएर क्रमश अघि बढाउँदै लैजानुपर्ने परिसंघको माग छ । पुराना ग्राहकका लागि चालु पुँजी कर्जा मार्ग निर्देशन २ वर्षका लागि स्थगन गर्नुपर्नेमा परिसंघले जोड दिएको छ ।

स्वागत कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले असल व्यवसाय विकासका लागि सरकार, मिडिया र निजी क्षेत्रसँगै बढ्ने बताए ।

त्यस्तै परिसंघका उपाध्यक्ष कृष्ण शर्माले अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रका समस्याहरू सरकार समक्ष पु-याउन मिडियाको भूमिका रहेको बताए । सरकारसँग सहकार्य गर्दै अर्थतन्त्र र उत्पादन क्षेत्रसँग एकता गरेर अघि बढ्ने उनको भनाइ छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here