लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा

सांकेतिक तस्वीर

काठमाडौं, १८ साउन । ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए । हतारोका कारण अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौँ, उनले भने ।

महाशाखाले सीसीटीभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेनबाट अनुगमन गरी अनुशासनको कारवाही गर्दै आएको छ । सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारीसाधनको नम्बर टिपेर चालकको घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ ।

कारवाही परेकामध्ये ४० हजार ६१९ पुरुष र २ हजार २०३ महिला रहेका छन् । ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई रु ५ सय जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन ट्राफिक प्रहरीले विस २०७१ असोज २६ देखि लेन अनुशासन कारवाही गर्दै आएको हो । महाशाखाले हालसम्म तीन लाख आठ हजार ५४७ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा लिएको प्रवक्ता पौडेलले बताए ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र ९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here