कोरियाबाट जहाज चढाई नेपाल ल्याएका गाई किसानलाई वितरण

काठमाडौं, १२ पुस । हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर आज किसानलाई वितरण गरिएको हो ।

दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका छ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हेफर इन्टरनेशनल नेपालका भेटरिनरी डा भोला श्रेष्ठले जानकारी दिए । उनका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी छ ।
हेफर कोरियाबाट प्राप्त गाई पुस ७ गते नै कोरिया सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरी नेपाल सरकारले सिन्धुलीका किसानलाई वितरण गरेको हो । उत्पादनको हिसाबले कोरियाका टप ९परीक्षण भएका० दुई वटा बहर पनि केही दिनपछि आउने हेफरले जनाएको छ ।

डा श्रेष्ठले नेपाली स्थानीय गाईलाई विस्थापित गर्ने नभई नस्ल सुधार गरी संरक्षण गर्ने उद्देश्यले गाई ल्याइएको बताउनुभयो । दक्षिण कोरियाबाट ल्याएका शतप्रतिशत शुद्ध नस्लका गाई नस्ल सुधारका लागि ल्याएको उनको भनाइ थियो । डा श्रेष्ठले नेपालको स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागले गरिरहेको बताए ।

नेपालमा रहेका ७३ लाख गाईमध्ये करिब २० प्रतिशत मात्रै गाई उन्नत जातका रहेको डा श्रेष्ठले बताए । उनले नेपालमा दूध उत्पादन बढाउन आवश्यक रहेको भन्दै शुद्ध नस्ल भएका उत्पादन क्षमता बढी भएका गाई ल्याइएको बताए । गाईलाई आवश्यक पर्ने शुद्ध नस्लको सिमेन (वीर्य) पनि कोरियाबाटै प्राप्त भएको छ । यी गाईको क्षमता प्रतिबेत आठदेखि १६ हजार लिटर दूध रहेको बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here