केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौं उत्रियो

काठमाडौं । नेपाल र चीनबीच रेल सेवा सञ्चालन सम्भाव्यता अध्ययन तथा सर्भे गर्न चिनियाँ टोली काठमाडौं आएको छ । नेपालस्थित चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिङले ट्वीटमार्फत् यसबारे जानकारी गराएका हुन् ।

ट्वीटमा उनले भनेका छन्, ‘भूपरिवेष्ठित देश नेपाललाई रेल सेवाको माध्यमबाट भूजडित देश बनाउने दुई देशका राष्ट्र प्रमुखहरुको सहमतिअनुसार सो समूह नेपाल आइपुगेकोमा स्वागत गर्दछु ।’

यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको रेल मार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली काठमाडौं आएको रेल विभागले जनाएको छ । विभागका अनुसार चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ ।

यसअघि पनि चिनियाँ सहयोगमा नै यो परियोजनाको पूर्वसम्भाव्यता अध्ययन भएको थियो । बेल्ट एन्ड रोड अवधारणामा निर्माण गर्ने गरी नेपालले चीनसँग प्रस्ताव गरेको विभिन्न नौ परियोजनामध्येको एक हो रेल मार्ग ।

चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण र तत्कालीन परराष्ट्रमन्त्री डा। नारायण खड्काको चीन भ्रमणमा समेत यो परियोजनाको बारेमा छलफल भएको थियो । आयोजनाको सम्भाव्यता अध्ययनसमेत चिनियाँ सहयोगमा नै सम्पन्न हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here