सुरक्षा निकायका पदाधिकारीलाई नेता भेट्न गृहले लगायो रोक, भेट्नै परे स्वीकृति लिनुपर्ने

काठमाडौं, १४ पुस । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरूलाई राजनीतिक पार्टीका नेताहरूलाई भेट्न रोक लगाएको छ ।

गृहका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बिहीवार एक विज्ञप्ति जारी गर्दै अबदेखि राजनीतिक पार्टीका नेताहरूलाई भेट्नु परे स्वीकृति लिनुपर्ने जनाएका छन् ।

कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्देशनविपरीत कसैले पूर्वस्वीकृतिबिना नै भेटघाट गरेको पाइएमा कानुनअनुसार कारबाही हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सुरक्षा निकायको सरुवा बढुवामा शक्ति केन्द्रको व्यापक हस्तक्षेप हुने गरेको छ। त्यसका लागि सुरक्षा अधिकारीहरू राजनीतिक दलका नेताहरू निकट देखिने गरेका छन्।

विज्ञप्तिमा भनिएको छ ‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरु कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरुले कुटनीतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्ने पर्ने भएमा स्पष्ट प्रयोजन र विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन अनुरोध छ’, विज्ञप्तिमा लेखिएको छ, ‘यस निर्देशन विपरीत कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम अनुशासन सम्बन्धी कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here