नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, मुख्य सुरुङ खन्ने काम ७३ प्रतिशत सकियो

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ ।

कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म कामको ७३.३० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।

आयोजनका अनुसार हालसम्म मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ७८२.८० मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ८५१.२० मिटर र धादिङतर्फ ९३१.६० मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेम हालसम्म २ हजार ४६.२० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ १ हजार ९८.६० मिटर र धादिङतर्फ ९४७.६० मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

हालसम्म ३ हजार ८२९ मिटर सुरुङमार्ग, १२६ मिटर वर्किङ अडिट र ७४.२० क्रस प्यासेज गरी कुल ४ हजार २९.२० मिटरको काम सम्पन्न भएको छ ।

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३८.१ मिटर र धादिङतर्फ ३६.१ मिटर निर्माण गरिएको छ ।

हालसम्म आयोजनाको समग्रमा ४७.९० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ४९.५९ प्रतिशत प्रगति भएको छ ।

सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ ।

सरकारले उच्च महत्व दिएको नागढुङ्गा सुरुङमार्ग आयोजना निर्धारित समयमा पूरा नहुने देखिएको छ ।

गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथजा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान नभएकाले निर्धारित समयभन्दा छ महिना समय लाग्ने देखिएको आयोजनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here