विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले पोखरा विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरु दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो ।

आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेको सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन् ।

आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । जाँचबुझ आयोग गठन गर्दै आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण अनिवार्य गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिने भएको छ। त्यस्तै त्यस कार्यको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एन ९–एएनसी एटीआर–७२ को जहाज पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो।

बिहान ११ बजेर ५५ मिनेटमा दुर्घटना भएको हो। ६८ यात्रु र चालक दलका चार सदस्य गरी ७२ जना सवार उक्त जहाज १० बजेर ५० मिनेटसम्म पोखराको टावरसँग सम्पर्कमा रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here