शहरी विकासमन्त्री पाण्डेको प्रतिबद्धता-‘देशभरका तुइन विस्थापित गरी झोलुङ्गे पुल बनाउने’

काठमाडौं । नवनियुक्त शहरी विकास मन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार शहरी विकास मन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले नेपालको पश्चिममा खोलामा झोलुङ्गे पुल नहुँदा मानिसहरूको तुइनबाट खोला तर्दा खोलामा खसेर मृत्यु भइरहेको भन्दै सबैभन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताएका हुन् । उनले तुइन हटाएर झोलुङ्गे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने जिकिर गरे ।

मन्त्री पाण्डेले अब नेपालको कालीगण्डी क्षेत्रमा हरेक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने बताए । उनले शहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्ने बताए ।

मन्त्री पाण्डेले विकास निर्माणका काम के कारण रोकिएको छानबिन गरी भएका समस्या तत्काल समाधान गर्ने योजना रहेको उल्लेख गरे । उनले काम सुरु भएर पनि सम्पन्न नभएका काम तत्काल पूरा गर्नका लागि मन्त्रालयमा आएको बताए ।

शहरी विकास मन्त्रालयका विकास निर्माणका काम किन नभएको सबै थाहा भएकाले सबै समस्या समाधान गर्दै मन्त्रालयलाई विगतको भन्दा फरक रूपमा अगाडि बढाउने मन्त्री पाण्डेकाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here