पोखरा दुर्घटना : ब्ल्याक बक्स परीक्षण गर्न शुक्रबार सिङ्गापुर लगिने

काठमाडौं, १२ माघ । माघ १ गते पोखरामा भएको जहाज दुर्घटनाबारे सरकारले गठन गरेको दुर्घटना जाँच आयोगले यती एयरलाइन्सको ९एन–एनसी विमानको ब्ल्याक बक्स परीक्षण गर्न सिङ्गापुर पठाउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार दुुर्घटनाको प्राविधिक पक्ष विश्लेषण गर्न सिङ्गापुरको ट्रान्सपोर्ट इन्भेटिगेसन ब्युरोमा लैजाने निर्णय गरिएको हो ।

दुर्घटनाका कारण खोज्न यो उपकरण महत्त्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका जाँचबुझ समितिको तीन सदस्यीय टोली शुक्रबार सिङ्गापुर जाँदै छ । परीक्षणका क्रममा फेला परेका तथ्यमा थप अध्ययन तथा विश्लेषण गरेर टोली एक हप्तामा नेपाल फर्किनेछ ।

जाँचलाई थप प्रभावकारी बनाउन फ्रान्सबाट एटीआर विमान निर्माता कम्पनी र क्यानडाबाट विमानको इन्जिन निर्माता कम्पनीको टोलीसमेत सिङ्गापुर आउने भएको छ ।

ब्ल्याक बस्कको परीक्षण गर्ने संसारभरका प्रयोगशालामध्ये सिङ्गापुर सरकारले स्थापना गरेको ट्रान्सपोर्ट इन्भेटिगेसन ब्युरो विशेष सुविधासम्पन्न प्रयोगशाला मानिन्छ । ब्ल्याक बस्कको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको नियमअनुसार परीक्षण हुनेछ ।

हवाई दुर्घटना जाँच तथा हवाई क्षमता अभिवृद्वि सम्बन्धमा नेपालको सिङ्गापुर, बेलायत र फ्रान्ससँग सम्झौता रहेकाले परीक्षण निःशुल्क हुनेछ । १ माघमा भएको दुर्घटनामा ७२ जना परेका थिए । जसमध्ये २ जना अझै वेपत्ता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here